आदरणीय महानुभावहरू,
कुनै गगनचुम्वी भवनको उचाई निर्धारण गर्ने आधार यसको जगलाई मानिन्छ भने देशको "विकास र समृद्धि" को आधार के होला त ? यस विषयमा आ–आफ्ना धारणाहरु हुन सक्छन्। कसैले भौतिक पूर्वाधार त कसैले बैज्ञानिक अध्ययन र अनुसन्धान भन्ला। कसैले आन्तरिक द्वन्दमा पिल्सिएको मुलुकको लागि सुदृढ सुरक्षा प्रवन्ध त कसैले गुणस्तरीय शिक्षा र स्वास्थ्य (दिर्घ आयु सहितको निरोगी समाज ) को जिकिर गर्ला । यस्तो वहसमा सहभागी एक औसत नागरिकले आफ्नो पढाई र पेशासँग जोडिएको क्षेत्रलाई विकास र समृद्दिको जग मान्नु शायद कुनै आश्चर्य नहोला। तर स्वतन्त्र र निष्पक्ष ढंगले मनन् गर्ने हो र आजका विकसित देशहरुको विगत इतिहाँसलाई केल्हाउने हो भने बहुसंख्यकले पक्कै पनि “गुणस्तरीय शिक्षा” नै विकास र समृद्धिको पक्षमा मत जाहेर गर्ने संभावना छ। यद्यपि गुणस्तरीय शिक्षाको परिभाषा भने देशपिच्छे पृथक पृथक हुन सक्तछ ।
“गुणस्तरीय शिक्षा” को लागि योग्य र सक्षम शिक्षक छनौट एक माध्यम हुन सकोस् भन्ने हेतुले सर्वप्रथम "राष्ट्रिय शिक्षक सेवा आयोग" (हाल शिक्षक सेवा आयोग) २०५५ सालमा स्थापना भयो । तत्पश्चात नेपालका सामुदायिक विद्यालयको लागि आवश्यक शिक्षकको छनौट र तिनीहरुको पदोन्नति (अध्यापन अनुमित पत्र समेत) सम्बन्धी कार्यमा आयोग संलग्न रहँदै आएको छ। आयोगले आफ्नो प्रत्यक्ष संलग्नतामा हालसम्म (०७६ कार्तिक) ५७००९ उम्मेदवार (०५२ सालको परीक्षा बाहेक) लाई स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ। ती शिक्षकहरुले कक्षा कोठामा प्रदर्शन गरेको शैक्षणिक स्तरको मापन प्रत्यक्षत आयोगले गरेको छैन तर केही अपवाद बाहेक हालसम्म प्राप्त पृष्ठपोषण भने सकारात्मक नै पाईएको छ ।
आयोगले प्रचलित ऐन¸नियमको परिधिभित्र रही शिक्षक छनौट र सिफारिस गर्ने भएकोले योग्य र सक्षम शिक्षक छनौट गर्न सघाउने कतिपय राम्रा पक्षहरु तत्काल कार्यान्वयनमा ल्याउन सकिएको छैन। तापनि विषयगत अध्यापन अनुमति पत्र र शिक्षक सेवा आयोग नियमावली¸ २०५७ मा भएको दशौं संशोधन पश्चात शिक्षक छनौट थप छिटो छरितो¸ गुणस्तरीय र बस्तुगत हुने अपेक्षा आयोगले लिएको छ। आयोगलाई एक निष्पक्ष¸ विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न हामी लागिरहेका छौं र यो कार्य तपाँइको सहयोग र सद्भभाव विना संभव पनि छैन। त्यसर्थ¸ यस दिशामा तपाँइको उपयुक्त सल्लाह र सुझावको आयोगले हरदम अपेक्षा गरेको छ ।
धन्यवाद ।
शिक्षक सेवा आयोग
अध्यक्ष |
|
................. सदस्य |
................... सदस्य |
दिनेश कुमार श्रेष्ठ का.मु. प्रशासकीय प्रमुख |
सुदर्शन मरहठ्ठा उप सचिव |